सोमनाथ सापकोटा
लेखक परिचय:
सापकोटा लामो समयदेखि नेपाली डायस्पोरा, गैरआवासीय नेपाली संघ (NRNA) र पर्यटन प्रवर्द्धनमा सक्रिय छन्। हाल उनी NRNA अन्तर्राष्ट्रिय समन्वय परिषद्को प्रवक्ताका रूपमा जिम्मेवारी निर्वाह गरिरहेका छन्। उनले यसअघि वेल्सका लागि नेपालका सद्भावना राजदूत, डेनमार्क र माल्टाका लागि नेपाल पर्यटन बोर्डको मानार्थ जनसम्पर्क प्रतिनिधि तथा नेपाल सरकारको तर्फबाट वेल्सका पर्यटन प्रवर्द्धकका रूपमा समेत सेवा पुर्याइसकेका छन्। नेपाली संस्कृति, सम्पदा र पर्यटनलाई विश्वमा चिनाउनुका साथै विदेशमा रहेका नेपालीहरूको स्रोत र सीपलाई मातृभूमिको विकाससँग जोड्ने अभियानमा उनको निरन्तर सक्रियता रहिआएको छ ।
भोटेकोशी नदीमा २६ अगस्टमा आएको विनाशकारी बाढीपछि नेपाल ठूलो मानवीय तथा भौतिक क्षतिको सामना गरिरहेको छ। रसुवा, नुवाकोट, धादिङलगायत केही क्षेत्रमा बाढीले सडक, पुल, जलविद्युत्, आवास तथा अन्य महत्त्वपूर्ण पूर्वाधारमा गम्भीर क्षति पुर्याएको छ। विपद्को ११औँ दिनसम्म पनि खोज तथा उद्धार कार्य जारी रहँदा तत्काल राहत र उद्धारसँगै दीर्घकालीन पुनर्स्थापना, पुनर्निर्माण र पर्यटन क्षेत्रको पुनरुत्थान नेपालका लागि महत्त्वपूर्ण चुनौती बनेको छ
परराष्ट्र मन्त्रालयका अनुसार बाढीपछि ३५ देशका करिब ६०० विदेशी नागरिक बेपत्ता छन् भने हालसम्म ३०० भन्दा बढी विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ। विदेशी नागरिकको खोज तथा उद्धारका लागि नेपाली सेनाको समन्वयमा विभिन्न मित्रराष्ट्रका विशेष उद्धार टोली परिचालित छन्। शनिबार माथिल्लो त्रिशूली–१ को सुरुङबाट एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गरिएको छ। यस विपद्मा विभिन्न मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाबाट सहयोग प्राप्त भइरहेको छ।
विश्व समुदायसम्म एउटा महत्त्वपूर्ण कुरा स्पष्ट रूपमा पुर्याउन आवश्यक छ—बाढीबाट सम्पूर्ण नेपाल प्रभावित भएको छैन। मुख्य रूपमा केही नदी आसपासका क्षेत्र र केही जिल्लामा ठूलो क्षति भएको हो। नेपालका अधिकांश भूभाग, प्रमुख सहर तथा धेरै पर्यटकीय गन्तव्यहरू सामान्य अवस्थामा छन् र पर्यटकका लागि खुला छन्। विपद्को वास्तविक अवस्थाबारे गलत, अपूर्ण वा अतिरञ्जित सूचना विश्वभर फैलिँदा त्यसको प्रत्यक्ष असर नेपालको पर्यटन क्षेत्रमा पर्न सक्छ। त्यसैले नेपालले संकटको वास्तविकता लुकाउनु हुँदैन, तर प्रभावित क्षेत्र र सुरक्षित क्षेत्रबीचको स्पष्ट भिन्नता पनि विश्वसामु राख्नुपर्छ।
अब नेपालले आफ्नो सूचना प्रणालीमा अझ धेरै काम गर्नुपर्ने आवश्यकता छ। पर्यटकले यात्रा गर्नुअघि कुन क्षेत्र सुरक्षित छ, कुन क्षेत्रमा यात्रा गर्न सकिन्छ, कुन सडक तथा पदयात्रा मार्ग सञ्चालनमा छन् र कुन क्षेत्रमा अस्थायी रूपमा नजानु उचित हुन्छ भन्नेबारे स्पष्ट, अद्यावधिक र विश्वसनीय जानकारी सहज रूपमा पाउन सक्नुपर्छ। सरकार, नेपाल पर्यटन बोर्ड, स्थानीय तह, सुरक्षा निकाय, पर्यटन व्यवसायी, नेपाली कूटनीतिक नियोग र डायस्पोराबीच प्रभावकारी समन्वय हुनुपर्छ। एउटै तथ्यमा आधारित आधिकारिक सूचना प्रणाली विकास गर्नुपर्छ। पर्यटकको विश्वास विज्ञापनबाट मात्र होइन, सही सूचना, पारदर्शिता, सुरक्षा र जिम्मेवार व्यवहारबाट निर्माण हुन्छ।
नेपाल विश्वभर सगरमाथा, हिमाल, पदयात्रा, साहसिक पर्यटन, संस्कृति, जैविक विविधता, आध्यात्मिक तथा धार्मिक पर्यटनका लागि प्रसिद्ध छ। केही क्षेत्रमा आएको विपद्का कारण सम्पूर्ण नेपाललाई असुरक्षित वा पर्यटनका लागि बन्द भएको देशका रूपमा चित्रित गर्नु उचित हुँदैन। बरु अहिले नेपालले विश्वसामु आफ्नो बाहुली अझ फराकिलो पार्दै भन्न सक्नुपर्छ—नेपाल विश्वका लागि खुला छ, नेपाल तपाईंलाई स्वागत गर्न तयार छ। हामीले विश्वलाई डर र निराशाको मात्र सन्देश होइन, सत्य, सुरक्षा, विश्वास, मानवीयता र आशाको सन्देश दिनुपर्छ।
नेपालको पर्यटन क्षेत्र पुनरुत्थानका लागि अहिले अन्तर्राष्ट्रिय पर्यटकको आगमन झन् महत्त्वपूर्ण हुन सक्छ। सुरक्षित गन्तव्यमा पर्यटक आउनु पर्यटन व्यवसायलाई सहयोग गर्नु मात्र होइन, स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनु र विपद्पछिको पुनर्निर्माणमा अप्रत्यक्ष योगदान पुर्याउनु पनि हो। होटल, रेस्टुरेन्ट, यातायात, ट्रेकिङ, गाइड, हस्तकला, कृषि तथा स्थानीय उत्पादनलगायत हजारौँ व्यवसाय र रोजगारी पर्यटनमा निर्भर छन्। पर्यटकको आगमन बढ्दा यी क्षेत्र पुनःसक्रिय हुन्छन् र त्यसको आर्थिक लाभ स्थानीय समुदायसम्म पुग्छ। तर यसको अर्थ जोखिमयुक्त क्षेत्रमा पर्यटक पठाउनु होइन। सुरक्षा पहिलो प्राथमिकता हुनुपर्छ।
यस अवस्थामा विश्वभर फैलिएको नेपाली डायस्पोरा नेपालको ‘People-to-People Tourism Promotion’ को महत्त्वपूर्ण शक्ति बन्न सक्छ। प्रत्येक नेपालीले आफू बसेको देशमा नेपालबारे सही सूचना दिने, सुरक्षित पर्यटकीय गन्तव्यको प्रचार गर्ने, विदेशी साथी, सहकर्मी र समुदायलाई नेपाल भ्रमणका लागि प्रोत्साहित गर्ने अभियान चलाउन सक्छ। म्यानमारलगायत विश्वका विभिन्न देशमा बसोबास गर्ने नेपाली समुदायलाई विशेष अनुरोध गर्नुपर्छ—नेपालको वास्तविक अवस्था आफ्ना स्थानीय समुदाय, साथीभाइ र सहकर्मीलाई जानकारी गराऔँ र सुरक्षित रूपमा नेपाल भ्रमणका लागि प्रोत्साहित गरौँ। नेपालसँग जोडिएका हरेक नेपालीले आफ्नो देशको पर्यटन प्रवर्द्धनमा व्यक्तिगत रूपमा भूमिका खेल्न सक्छन्।

विदेशमा बसोबास गर्ने नेपाली मूलका विदेशी नागरिक तथा दोस्रो र तेस्रो पुस्ताका नेपालीहरूलाई पनि विशेष आह्वान गर्न आवश्यक छ। आफ्नो परिवार, जीवनसाथी, छोराछोरी तथा विदेशी साथीहरूलाई लिएर नेपाल भ्रमणमा आउनुहोस्। नेपाललाई केवल पुर्खाको देशका रूपमा होइन, परिवारसँग घुम्ने, संस्कृति बुझ्ने, प्रकृति अनुभव गर्ने र नेपालको पुनर्निर्माणमा साथ दिने गन्तव्यका रूपमा जोडौँ। नेपालले पनि नेपाली मूलका विश्वभरका नागरिक तथा उनीहरूका परिवारका लागि आफ्नो बाहुली र हृदय अझ फराकिलो पार्दै खुला मनले स्वागत गर्नुपर्छ। उनीहरूलाई नेपालसँग पुनः जोड्ने, आफ्ना सन्तानलाई नेपाली संस्कृति, इतिहास र पहिचानसँग परिचित गराउने तथा नेपाललाई आफ्नो दोस्रो घरका रूपमा अनुभूति गराउने वातावरण निर्माण गर्नुपर्छ। विशेषगरी ‘Family Trip to Nepal’ जस्ता अभियानमार्फत विदेशमा जन्मे–हुर्केका दोस्रो तथा तेस्रो पुस्ताका नेपालीलाई आफ्ना जरा, संस्कृति, इतिहास र प्राकृतिक सम्पदासँग जोड्न सकिन्छ।
पर्यटन पुनरुत्थानलाई तीव्र बनाउन सरकारले आवश्यक अध्ययन गरी केही वर्षका लागि लक्षित मुलुकका पर्यटकलाई निःशुल्क वा विशेष सहुलियतपूर्ण भिसा दिने नीति समेत विचार गर्न सक्छ। नेपाली मूलका विदेशी नागरिक र उनीहरूका परिवारका लागि थप सहज यात्रा तथा भिसा व्यवस्था गर्न सके यसले ठूलो सकारात्मक प्रभाव पार्न सक्छ। अहिले नेपाललाई विश्वसँग दूरी बढाउने होइन, विश्वसँगको सम्बन्ध अझ गहिरो बनाउने समय हो।
यो विपद् नेपालका लागि केवल उद्धार र राहतको विषय होइन; जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणबारे विश्वलाई आफ्नो आवाज सुनाउने अवसर पनि हो। हिमाली तथा पर्वतीय मुलुकका रूपमा नेपालले जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, हिमताल विस्फोट र चरम मौसमी घटनाको प्रभाव विश्व मञ्चमा अझ सशक्त रूपमा उठाउनुपर्छ। नेपालले जलवायु न्याय, जलवायु वित्त, क्षति तथा नोक्सानीको उचित सम्बोधन तथा जलवायु जोखिममा रहेका मुलुकका लागि अन्तर्राष्ट्रिय सहयोगको मागलाई प्राथमिकताका साथ अघि बढाउन आवश्यक छ।
अबको अभियान राहतमा मात्र सीमित हुनुहुँदैन। प्रभावित क्षेत्रको सुरक्षित पुनर्निर्माण, जलवायु–उत्थानशील पूर्वाधार, आधुनिक पूर्वसूचना प्रणाली, सुरक्षित बस्ती, विपद् पूर्वतयारी र दिगो पर्यटन विकासलाई राष्ट्रिय प्राथमिकता बनाउनुपर्छ। पुनर्निर्माण गर्दा विगतकै जोखिमयुक्त संरचना दोहोर्याउने होइन, ‘Build Back Better’ अवधारणाअनुसार भविष्यका विपद् सामना गर्न सक्ने सुरक्षित नेपाल निर्माण गर्नुपर्छ।
अहिले नेपाललाई पर्यटक पहिलेभन्दा बढी आवश्यक छ। सुरक्षित रूपमा नेपाल भ्रमण गर्ने प्रत्येक पर्यटकले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन, रोजगारी जोगाउन र पुनर्निर्माणको यात्रालाई सहयोग गर्न सक्छ। त्यसैले विश्वभर रहेका नेपाली समुदायलाई आह्वान गरौँ—आफू मात्र नेपाल नफर्कौँ, आफ्नो परिवार, विदेशी जीवनसाथी, छोराछोरी, साथी र सहकर्मीलाई समेत नेपाल चिनाऔँ, नेपाल घुमाऔँ र नेपालको पुनर्निर्माणमा साझेदार बनाऔँ। म्यानमारदेखि युरोप, अमेरिका, अस्ट्रेलिया, एसिया, मध्यपूर्व र विश्वका हरेक कुनामा रहेका नेपालीले आफ्नो समुदायमा नेपालको वास्तविक अवस्था र सुरक्षित पर्यटकीय गन्तव्यबारे सकारात्मक तथा तथ्यमा आधारित सूचना फैलाउन सक्छन्।
नेपालले पनि आफ्नो हात र हृदय विश्वका लागि अझ फराकिलो बनाउनुपर्छ। विश्वलाई स्वागत गरौँ, तर जिम्मेवार ढंगले; पर्यटकलाई बोलाऔँ, तर सुरक्षालाई पहिलो प्राथमिकता दिऔँ; सूचना दिऔँ, तर सत्य र विश्वसनीय सूचना दिऔँ। विदेशमा रहेका नेपाली मूलका नागरिकहरूलाई विशेष अनुरोध गरौँ—यसपटक नेपाल फर्किने यात्रा केवल परिवार भेट्ने यात्रा नहोस्; आफ्ना सन्तानलाई नेपाल चिनाउने, विदेशी साथीहरूलाई नेपाल देखाउने र नेपालको पुनर्निर्माणमा योगदान गर्ने पारिवारिक तथा मानवीय यात्रा बनोस्।
नेपालले विश्वलाई स्पष्ट सन्देश दिनुपर्छ—नेपाल विपद्ले बन्द भएको देश होइन; विपद्बाट सिक्दै अझ सुरक्षित, सबल, दिगो र उत्थानशील बन्ने प्रतिबद्धता भएको देश हो। केही जिल्लामा आएको विनाशकारी विपद्लाई सम्पूर्ण नेपालको अवस्थाका रूपमा चित्रित गर्नु हुँदैन। प्रभावित क्षेत्रको सुरक्षा र पुनर्निर्माणलाई उच्च प्राथमिकता दिँदै सुरक्षित रहेका अन्य भूभाग र पर्यटकीय गन्तव्यमा जिम्मेवार तथा सुरक्षित पर्यटनलाई निरन्तरता दिनुपर्छ।
संकटको घडीमा नेपालले तत्काल उद्धार र राहतलाई निरन्तरता दिँदै त्यससँगै दीर्घकालीन पुनर्निर्माण, पर्यटन पुनरुत्थान, जलवायु न्याय र सुरक्षित नेपालको अभियानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्राथमिकतामा राख्नुपर्छ। विपद्बाट उठ्ने नेपाल केवल पुरानै अवस्थामा फर्किने होइन—अझ सुरक्षित, सबल, दिगो, विश्वसनीय र विश्वका लागि अझ खुला नेपाल बन्नुपर्छ।
Source : wenepali