
नेपाल र माल्टाबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने एवं दुई देशबीच आर्थिक गतिविधिहरुको अभिवृद्धिका लागि नेपाली राजदूतावास, लण्डन तथा माल्टाका व्यवसायी तथा लगानीकर्ताहरुको संयुक्त प्रयासमा माल्टा-नेपाल च्याम्बर अफ कमर्शको स्थापना भएको छ।
माल्टाका प्रसिद्ध व्यवसायी टोमस मिकालौकास नवगठित च्याम्बर अफ कमर्शको अध्यक्ष चयन भएका छन् भने, उपाध्यक्ष सोम सापकोटा, सचिव शंकर खाती र कोषाध्यक्ष ओलेग ज्याकोभलेस रहेका छन् । संस्थाको संरक्षकमा माल्टाका लागि नेपाली राजदूत रहेका छन् । माल्टा तथा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले आफ्नो १७ जनवरी २०२० मा भएको माल्टाको औपचारिक भ्रमणको अवसरमा माल्टा–नेपाल च्याम्बर अफ कमर्श गठन गर्ने घोषणा गरेका थिए ।
माल्टा तथा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत तथा संस्थाका संरक्षक डा. दुर्गाबहादुर सुवेदीले नेपाल र माल्टाबीच मैत्रीपूर्ण एवं सौहार्दपूर्ण सम्बन्ध रहेको र दुवै देशले द्विपक्षीय सम्बन्ध थप सुदृढ गर्न तथा आर्थिक सहकार्यका लागि निरन्तर कार्य गरिरहेको बताए । साथै उनले माल्टा र नेपालबीच व्यापारिक सहकार्यको ठूलो सम्भावना रहेको र माल्टा नेपाल च्याम्बर अफ कमर्शको स्थापनाबाट दुई देशबीच व्यापार, लगानी तथा पर्यटन प्रवर्द्धनका लागि थप सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।
अध्यक्ष मिकालौकासले माल्टा र नेपाल दुवै लगानी तथा व्यापारका लागि उच्च सम्भावना भएका देशहरु रहेको र यस संस्थाले माल्टा र नेपालबीचको सहकार्यमा व्यापार तथा लगानी गर्न इच्छुक व्यवसायी तथा लगानीकर्ताहरुलाई सहयोग तथा सहजीकरण गर्ने बताएका थिए ।