श्रीलक्ष्मीवैकुण्ठनाथ मन्दिर तथा श्रीवैकुण्ठनाथ परमवैदिक विद्याप्रतिष्ठानम् गुरुकुल भरतपुर–४, लंकुस्थित एक महत्वपूर्ण धार्मिक, शैक्षिक तथा सांस्कृतिक केन्द्र हो। यहाँ दैनिक रूपमा पूजाआजा, वैदिक शिक्षा, धार्मिक अनुष्ठान तथा विभिन्न सामाजिक गतिविधिहरू सञ्चालन हुँदै आएका छन्। मन्दिर तथा गुरुकुल परिसरको पूर्वाधार विकास, वातावरण संरक्षण तथा भक्तजन, विद्यार्थी एवं आगन्तुकहरूको सुविधा अभिवृद्धि गर्ने उद्देश्यले सिमेन्ट बेञ्च स्थापना, वृक्षारोपण, सरसफाइ तथा दाता सम्मान कार्यक्रम सञ्चालन गरिएको हो।
यसै उद्देश्यलाई साकार पार्दै मन्दिर तथा गुरुकुल परिसरमा धार्मिक, शैक्षिक, सामाजिक तथा वातावरणीय विकासलाई लक्षित गर्दै सञ्चालन गरिएका सिमेन्ट बेञ्च स्थापना, वृक्षारोपण, सरसफाइ तथा दाता सम्मान कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएका छन्।
मन्दिर परिसरमा भक्तजन, विद्यार्थी तथा आगन्तुकहरूको सुविधालाई ध्यानमा राखी सञ्चालन गरिएको सिमेन्ट बेञ्च स्थापना अभियानअन्तर्गत १३ वटा सिमेन्ट बेञ्च स्थापना गरिएको छ। स्थापना गरिएका बेञ्चहरूले भक्तजन, विद्यार्थी तथा आगन्तुकहरूलाई सहज रूपमा बस्ने सुविधा प्रदान गर्नुका साथै धार्मिक, शैक्षिक तथा सामाजिक कार्यक्रमहरूलाई थप व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
यस अभियानमा सहयोग गर्ने महानुभावहरूमा श्री सोम नाथ सापकोटा, श्री हरि सापकोटा, श्री यमलाल सापकोटा (लाला), श्री केशवप्रसाद सापकोटा (अष्ट्रेलिया), श्री अग्निधर गौतम, लायन रामजी पौडेल, श्री के.एन. कँडेल, होटल गङ्गोत्री, श्री डीला राम खरेल (जापान), गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) माल्टा (अध्यक्ष श्री रोशन गिरी), श्री दामोदर कँडेल, श्री हरि लामिछाने (चीन) तथा श्री राम कँडेल (अष्ट्रेलिया) रहनुभएको छ। प्रत्येक बेञ्चमा सम्बन्धित दाताको नाम वा उहाँहरूको इच्छाअनुसार स्वर्गीय पिता, माता वा अन्य श्रद्धेय व्यक्तिको नाम स्थायी रूपमा अंकित गरिने व्यवस्था गरिएको छ।
यसैबीच, श्री हेम भट्टराईको सहयोगमा थाइल्यान्ड र श्रीलङ्काका उन्नत जातका १५ वटा आँपका बिरुवा मन्दिर तथा गुरुकुल परिसरमा रोपण गरिएको छ। भविष्यमा यी बिरुवाले परिसरलाई हराभरा, स्वच्छ तथा वातावरणमैत्री बनाउनुका साथै शीतल छायाँ र गुणस्तरीय फलफूल प्रदान गर्ने अपेक्षा गरिएको छ।
यसै अवसरमा श्रीलक्ष्मीवैकुण्ठनाथ मन्दिर तथा श्रीवैकुण्ठनाथ परमवैदिक विद्याप्रतिष्ठानम् गुरुकुल सञ्चालक तथा व्यवस्थापन समितिको आयोजनामा वृक्षारोपण, सरसफाइ तथा दाता सम्मान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम बिहान ७:०० बजेबाट प्रारम्भ भएको थियो। डिस्ट्रिक्ट ३२५ आरका प्रथम भाइस गभर्नर दीपेन्द्रप्रसाद खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मन्दिरका महन्त तथा अध्यक्ष स्वामी जगन्नाथाचार्य, मन्दिर सञ्चालक समितिका उपाध्यक्ष एवं भरतपुर–४ का जनप्रतिनिधि राधादेवी शर्मा कँडेल, नेपाल–अष्ट्रेलिया अभिभावक कल्याण समाजका तर्फबाट विदुर केसी, गुरुकुल सञ्चालक समितिका अध्यक्ष कमलनयन कँडेल, गुरुकुल व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद आचार्य, गुरुकुलका प्रधानाध्यापक नारायणप्रसाद सापकोटा, Way Group Nepal का अध्यक्ष दीपक गौतम, Group 4 Social का तर्फबाट बलराम सापकोटा, लायन्स क्लब अफ लंकुका अध्यक्ष डा. मनोज कँडेल, लायन्स क्लब अफ वैदिकनगरका अध्यक्ष धनवल्लभ अधिकारी, फ्युचर स्टार सेक्युरिटी कम्पनीका अधिकृत चूडामणि पौडेल, गलकोट समाजका अध्यक्ष धनबहादुर बस्नेत लगायत विभिन्न सामाजिक, धार्मिक तथा शैक्षिक क्षेत्रसँग आबद्ध व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम संयोजक श्री सोम नाथ सापकोटाले धार्मिक तथा सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै सामूहिक श्रमदानमार्फत मन्दिर तथा गुरुकुल परिसरलाई अझ स्वच्छ, हराभरा तथा वातावरणमैत्री बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बताउनुभयो। कार्यक्रममा सहभागीहरूले मन्दिर परिसरको सरसफाइ, झाडी तथा अनावश्यक बोटबिरुवाको व्यवस्थापन, वृक्षारोपण तथा श्रमदानमा सक्रिय सहभागिता जनाएका थिए। साथै, सिमेन्ट बेञ्च स्थापना अभियानमा सहयोग गर्ने सम्पूर्ण दाताहरूलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो।
उल्लेखनीय कुरा के छ भने, यस अभियानका परिकल्पनाकार, प्रस्तावक तथा संयोजक श्री सोम नाथ सापकोटा नव निर्माणाधीन श्रीलक्ष्मीवैकुण्ठनाथ मन्दिरका प्रथम दाता तथा श्रीलक्ष्मीवैकुण्ठनाथ मन्दिर एवं श्रीवैकुण्ठनाथ परमवैदिक विद्याप्रतिष्ठानम् गुरुकुलका अभिभावक हुनुहुन्छ। उहाँको नेतृत्व, सक्रिय पहल तथा निरन्तर समन्वयमा सिमेन्ट बेञ्च स्थापना, वृक्षारोपण, सरसफाइ तथा दाता सम्मानलगायतका सेवामूलक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएका हुन्। धार्मिक, शैक्षिक, सामाजिक तथा वातावरण संरक्षणका क्षेत्रमा उहाँले पुर्याउँदै आउनुभएको योगदानको कार्यक्रममा सहभागीहरूले उच्च प्रशंसा गरेका थिए।
कार्यक्रमको समापनमा मन्दिर व्यवस्थापन समितिले सिमेन्ट बेञ्च स्थापना, वृक्षारोपण तथा अन्य सेवामूलक अभियानमा सहयोग गर्ने सम्पूर्ण दाता, शुभेच्छुक, स्वयंसेवक तथा सहभागीहरूप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्ता धार्मिक, शैक्षिक, सामाजिक तथा वातावरण संरक्षणसम्बन्धी अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। यस अभियानले धार्मिक आस्था, सामाजिक उत्तरदायित्व, वातावरण संरक्षण तथा सामुदायिक सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको आयोजक समितिले जनाएको छ।