भोटेकोशी विपद्पछि पर्यटन पुनरुत्थानमा विश्वभरका नेपाली परिचालन गर्न मन्त्री पौडेल समक्ष सापकोटाको सुझाव

काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोपछि प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थानसँगै नेपालको पर्यटन प्रवर्द्धनलाई अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी बनाउन विश्वभर रहेका नेपाली समुदायलाई परिचालन गर्नुपर्ने सुझाव दिइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल (गणेश) सँग भएको भेटमा गैरआवासीय नेपाली संघ (एनआरएनए) पर्यटन प्रवर्द्धन विभागका अध्यक्ष एवं प्रवक्ता सोम सापकोटाले विपद्पछि नेपालको पर्यटन क्षेत्रको पुनरुत्थान र अन्तर्राष्ट्रिय बजारमा नेपालको सकारात्मक सन्देश प्रवाह गर्न प्रवासी नेपाली समुदायलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने सुझाव दिएका हुन् । भेटमा नेपाल पर्यटन बोर्ड छनोट समितिका सदस्य एवं वातावरणविद् पिके शेर्पासमेत सहभागी थिए ।

मन्त्रालयमा भएको भेटमा सापकोटाले भूकम्पपछि नेपालको पर्यटन प्रवर्द्धनका लागि सञ्चालन गरिएको ‘भिजिट नेपाल युरोप २०१७’ अभियानको अनुभव मन्त्रीसमक्ष राख्दै विनाशकारी भूकम्पपछि नेपालको पर्यटनप्रति अन्तर्राष्ट्रिय विश्वास पुनःस्थापित गर्न प्रवासी नेपाली समुदायको सहकार्यमा अभियान सञ्चालन गरीए जस्तै सरकार, पर्यटन क्षेत्रका निजी व्यवसायी र विश्वभर रहेका नेपाली समुदायबीच समन्वय र सहकार्य गरी पर्यटन प्रवर्द्धनलाई थप प्रभावकारी बनाउन सकिने उनको धारणा थियो ।

विदेशमा रहेका नेपाली समुदायले आयोजना गर्ने नेपाल फेस्टिभल, नेपाली मेला लगायत कार्यक्रमलाई नेपालको संस्कृति, सम्पदा, खानपान र पर्यटकीय गन्तव्यको प्रचारप्रसारसँग जोड्न सकिने सापकोटाले बताउँदै यस्ता कार्यक्रममार्फत अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटनबारे सकारात्मक सन्देश पुर्‍याउन सकिने उनको सुझाव थियो ।

भेटमा हालैका प्राकृतिक विपद्का कारण नेपालका सबै पर्यटकीय गन्तव्य प्रभावित नभएको र पर्यटकका लागि नेपाल खुला रहेको सन्देश अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा पुर्‍याउन अन्तर्राष्ट्रिय सञ्चारमाध्यम, डिजिटल प्लेटफर्म, पर्यटन व्यवसायी, नेपाली कूटनीतिक नियोग र प्रवासी नेपाली समुदायलाई समन्वयात्मक रूपमा परिचालन गर्नुपर्ने सुझाव थियो।

सापकोटाले छिमेकी मुलुकमा प्रत्यक्ष पर्यटन प्रवर्द्धन अभियान सञ्चालन गर्नुका साथै टाढाका पर्यटन बजारमा लक्षित डिजिटल अभियान चलाउनुपर्नेमा जोड दिएका थिए । प्रवासी नेपालीलाई नेपालको पर्यटन प्रवर्द्धनका लागि ‘ब्रान्ड एम्बेसडर’का रूपमा उपयोग गर्न सकिने धारणा उनले राखेका थिए् ।

नेपाल पर्यटन बोर्डलाई स्पष्ट दीर्घकालीन दृष्टिकोण र अन्तर्राष्ट्रिय बजार लक्षित रणनीतिसहित थप प्रभावकारी र गतिशील बनाउनुपर्ने सुझावसमेत भेटमा दिइएको हो ।
सापकोटाले नेपाल पर्यटन बोर्डको डेनमार्क र माल्टाका लागि एचपीआरआर तथा वेल्सका लागि नेपाल पर्यटन सद्भावना दूत एवं पर्यटन प्रवर्द्धकका रूपमा काम गर्दाको अनुभवसमेत मन्त्रीसमक्ष प्रस्तुत गरेका थिए ।

भेटमा विदेशमा बसोबास गर्ने नेपाली नेपाल भ्रमणमा आउँदा आन्तरिक हवाई यात्रामा विदेशी पर्यटक सरह व्यवहार गर्ने व्यवस्थालाई पुनरावलोकन गरी उपयुक्त व्यवस्था गर्नुपर्ने विषय पनि उठाइएको थियो । त्यस्तै, केही मुलुकका नागरिकलाई निश्चित अवधिसम्म भिसा सहज वा भिसामुक्त प्रवेशको व्यवस्था गर्न सकिने सम्भावनाबारे समेत सुझाव रहेको थियो ।

त्यस्तै , लुम्बिनी तथा भगवान् बुद्धको विश्वव्यापी सन्देशलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न विभिन्न मुलुक तथा नेपाली कूटनीतिक नियोगमा बुद्धका मूर्ति स्थापना गर्ने प्रयासबारे पनि मन्त्री पौडेललाई जानकारी गराइएको थियो ।

भेटमा पर्यटन क्षेत्रको पुनरुत्थान र दीर्घकालीन प्रवर्द्धनका लागि सरकार, नेपाल पर्यटन बोर्ड, निजी क्षेत्र तथा विश्वभरका नेपाली समुदायबीच सहकार्य र समन्वय आवश्यक रहेकोमा जोड दिइएको थियो ।

Sourcce : baideshikrojgarkhabar