भरतपुर — भरतपुर महानगरपालिकाले आफ्नो अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन रणनीतिलाई सुदृढ बनाउने उद्देश्यसहित सोमनाथ सापकोटालाई अन्तर्राष्ट्रिय पर्यटन समन्वयकका रूपमा नियुक्त गरेको छ।
आज कार्यवाहक मेयर चित्रसेन अधिकारीको कार्यालयमा आयोजित कार्यक्रममा सापकोटालाई औपचारिक रूपमा नियुक्तिपत्र हस्तान्तरण गरिएको हो। यससँगै भरतपुरलाई अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गर्दै प्रमुख पर्यटन गन्तव्यका रूपमा विकास गर्ने प्रतिबद्धता महानगरले पुनः व्यक्त गरेको छ।
सापकोटा विदेशी नागरिकता प्राप्त नेपाली मूलका गैरआवासीय नेपाली हुन्। उनी हाल गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता तथा पर्यटन प्रवर्द्धन समितिका संयोजकका रूपमा कार्यरत छन्। उनले नेपालको पर्यटन अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।
यसअघि उनले “भिजिट भरतपुर २०२४” अभियानमा अन्तर्राष्ट्रिय समन्वयकको रूपमा काम गर्दै भरतपुरलाई विश्व पर्यटन बजारमा चिनाउन उल्लेखनीय योगदान दिएका थिए।
नियुक्तिपछि प्रतिक्रिया दिँदै सापकोटाले भरतपुर महानगरप्रति आभार व्यक्त गर्दै आफ्नो अन्तर्राष्ट्रिय अनुभव, पेशागत सञ्जाल र दीर्घकालीन संलग्नताको माध्यमबाट भरतपुर तथा नेपाललाई विश्व मञ्चमा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताए।
सापकोटासँग पर्यटन क्षेत्रमा लामो अनुभव रहेको छ। उनी सन् १९९६ देखि युरोपमा बसोबास गर्दै आएका छन् र त्यहाँबाट निरन्तर नेपालको पर्यटन प्रवर्द्धनमा सक्रिय छन्। उनले डेनमार्क (२०१६–२०१८) र माल्टा (२०१९–२०२१) मा नेपाल पर्यटन बोर्डका प्रतिनिधिका रूपमा काम गरेका छन् भने वेल्सका पर्यटन सद्भावना दूत (२०२२) र पर्यटन प्रवर्द्धक (२०२३–२०२५) को भूमिका समेत निर्वाह गरिसकेका छन्।
त्यसैगरी, लुम्बिनी, देवदह, रामग्राम र कपिलवस्तु क्षेत्रलगायत बुद्ध सर्किटको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा पनि उनको सक्रिय संलग्नता रहेको छ।
भरतपुरका स्थायी बासिन्दा सापकोटाले आफ्नो शहरसँग गहिरो भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्दै यसको सामाजिक तथा आर्थिक विकासमा योगदान गर्न सदैव प्रतिबद्ध रहने बताए।
यस नियुक्तिले भरतपुर महानगरपालिकाको दिगो विकास, अन्तर्राष्ट्रिय पहिचान विस्तार तथा पर्यटनमार्फत आर्थिक वृद्धिमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

Source : nepalthoughts