सर्वसम्मत उपमहासचिव बन्ने विश्वास छ, चुनाव भए भारी मतले विजयी हुन्छु : सोम सापकोटासँगको अन्तरवार्ता

सोम सापकोटा
उपमहासचिव पदका उम्मेदवार
गैरआवायीय नेपाली संघ (एनआरएनए)
काठमाडौं । विश्वका विभिन्न देशमा पेशा, व्यवसाय, रोजगार र अध्ययनको सिलसिलामा विश्वका विभिन्न देशमा रहेका नेपालीहरुबीच भाइचाराको सम्बन्ध विस्तार र हकहितको संरक्षण गर्दै प्रवासमा बस्दै गर्दा सिकेको सीप, पुँजी र अनुभवनलाई भित्र्याएर समृद्ध नेपाल निर्माण गर्ने अठोटका साथ सन् २००३ मा स्थापित गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापनाको २० वर्ष पुरा भइसकेको छ । विभिन्न देशबाट गैरआवासीय नेपालीहरुले संस्थागत र व्यक्तिगत रुपमा नेपालको विभिन्न क्षेत्रमा लगानी भित्र्याउनुका साथै विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन् । ती मध्येका एक सोम सापकोटा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) भित्रको परिचित नाम हो ।
सन् २००६ देखि एनआरएनएमा आबद्ध उनी त्यसयता विभिन्न जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्दै हाल केन्द्रीय प्रवक्ताको महत्वपूर्ण भूमिकामा छन् । विभिन्न सामाजिक, राजनैतिक संघसंस्थामा आवद्ध सापकोटा सन् २००६ मा गैरआवासीय नेपाली सङ्घ पोर्चुगलको राष्ट्रिय समन्वय परिषद्को निर्वाचित सदस्य हुँदै एनआरएनएको संस्थागत अभियानमा जोडिएका थिए । यस्तै सन् २००९ मा उनी डेनमार्कको संस्थापक अध्यक्ष बने भने सन् २०११–२०१३ सम्म गैरआवासीय नेपाली संघको केन्द्रीय सदस्य बने । यस्तै सन् २०१५–२०१७ यूरोपको उपसंयोजक र सन् २०१७–२०१९ मा गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्य परिषद्को सह कोषाध्यक्षमा निर्वाचित भए । कोषाध्यक्ष हुँदा उनले संघको कोष निर्माणदेखि यससँग सम्बन्धित क्षेत्रमा उल्लेखनीय सुधार ल्याएका थिए । यस्तै सापकोटा सन् २०१९–२०२१ मा केन्द्रीय सल्लाहकार चयन भएका थिए ।
नेपालमा व्यक्तिगत पहल र गैरआवासीय नेपाली संघको माध्यमबाट ई–लाइबेरी स्थापना, पर्यटन प्रर्वद्धन, विभिन्न सामाजिक तथा धार्मिक क्षेत्रमा सहयोग र अन्य लगानीसमेतमार्फत रोजगारी सिर्जना लगायतमा सापकोटाले महत्पूर्ण भूमिका खेलेका छन् । सापकोटा नेपाल पर्यटन बोर्डको डेनमार्कका लागि २०१४ देखि १६ र माल्टाका लागि २०१९ देखि २१ सम्म मानार्थ जनप्रतिनिधि र वेल्सका लागि २०२२ मा टुरिजम गुडविल एम्बासडर आवद्ध थिए । बोर्डसँग जोडिएर उनले नेपालमा पर्यटन प्रवर्द्धमा महत्वपूर्ण भूमिका छन् । हाल उनी एनआरएनएको नेपाल पर्यटन प्रवर्द्धन समितिका संयोजक समेत हुन् ।
यसैगरी नेपाल लाइब्रेरी फाउन्डेसनका साथै एनआरएनएको पुस्तकालय परियोजना अन्तर्गतमा काम गरिसकेका उनले वैदेशिक रोजगारी कल्याणकारी कोषको संयोजक रहेर पनि वैदेशिक रोजगारसँग सम्बन्धित विषयको सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन् । जसका कारण उनले एनआरएनएमा विशेष पहिचान बनाउन सफल भएका छन् । साथसाथै डेनमार्क, माल्टा, चेक रिपब्लिकसहित युरोपका कतिपय देशमा राष्ट्रिय समिति स्थापनामा पनि उनको भूमिका महत्वपूर्ण रहेको थियो । २०३१ असोज ८ गते बागलुङमा जन्मिएका सापकोटाले एनआरएनएका विभिन्न तहमा बसेर काम गर्ने सिलसिलामा संस्थाको पारदर्शिता र मर्यादा कायम राख्नुपर्ने सवालमा जोड दिँदै आएका छन् । स्पष्ट वक्ता र कुनै पनि जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने र त्यसमा नतिजा समेत निकाल्न सक्षम सापकोटाले गैरआवासीय नेपाली संघको अक्टोबरमा हुन लागेको ११ औँ विश्व सम्मेलनमा आगामी कार्यकाल (२०२३–०२५) का लागि उपमहासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनै सापकोटासँग उनका चुनावी एजेन्डा तथा प्रतिबद्धताका साथै समग्र एनआरएनए अभियानका विषयमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंशः
गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा उपमहासचिव पदमा उम्मेदवारी दिँदै हुनुहुन्छ, तयारी कस्तोे छ ?
विश्वका विभिन्न देशमा पेशा, व्यवसायमा रहेका नेपालीहरुको हकहितको संरक्षण गर्दै विदेशमा सिकेका सीप र ज्ञानलाई नेपालमा भित्र्याउने उद्देश्यसिहत सन् २००३ मा स्थापित गैरआवासीय नेपाली संघको ११ औँ महाधिवेशन आगामी अक्टोबर १७ देखि २० सम्म काठमाडौँमा हुँदैछ । गैरआवासीय नेपाली संघको विभिन्न तहमा झन्डै २० वर्ष मैले काम गर्ने अवसर पाएँ । सुरुमै म यो अभियानमा किन लागेँ भने यो विदेशमा बस्ने सबै नेपालीहरूको साझा सङ्गठन हो । अवसरको खोजीमा बिदेसिएपछि नेपालका लागि केही गर्नुपर्छ पर्छ भनेर विभिन्न सामाजिक सङ्घ संस्थाहरूको स्थापना हुने गरेका छन् । यस सँगसँगै हामी बिचमा भएका सम्भावनाहरूलाई देशका लागि प्रयोग गर्ने र आम प्रवासी नेपालीलाई एउटै छातामा गोलबन्द गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली सङ्घ स्थापना भयो, जहाँ मैले सुरुवातदेखि नै काम गर्ने अवसर पाएँ ।
यो २० वर्षको अवधिमा हामीले भावनात्मक रूपमा सङ्गठन बनाउँदै पनि लग्यौँ । यसलाई अब विधिवतरुपमा अघि बढाउन विधि, विधानले बाँध्नुपर्ने छ। धेरै नीति, नियमहरू सुधार गर्नुपर्ने छ । हाम्रो सचिवालयलाई व्यवस्थित बनाउनुपर्ने छ । सचिवालय पारदर्शी छैन भन्न खोजेको होइन तर यसलाई अझै डिजिटलाइज्ड बनाउन जरुरी छ । भेटघाट, सेमिनार, गोष्ठीहरू परम्परागत छन्, मिटिङहरू अत्यन्तै लामा खालका छन् यसलाई छोट्याउने, कम खर्चिलो बनाउने र बसाइलाई नतिजामुखी कसरी बनाउने भन्ने पाटोमा काम गर्ने हिसाबले उपमहासचिव पदमा मैले मैले उम्मेदवारी दिएको हुँ । संस्थागत रूपमा सुदृढ गर्दै क्रियाशील र एकबद्ध एनआरएनए निर्माण गर्ने ध्येय मेरो हो । उपमहासचिवको तयारी गर्दै गर्दा साथीभाइ भेटघाट गर्ने, अग्रजहरूको सुझाव लिने जस्ता कार्यहरू भइरहेका छन् । व्यक्तिगतरुपमा अग्रज र साथीभाइहरुसँग उम्मेदवारीबारे परामर्श लिँदा धेरैको सकारात्मक प्रतिक्रिया पाइरहेको छ । सबैले अघि बढ भनेर होसला दिइरहेको अवस्थाले गर्दा उत्साहित बनाएको छ ।
तपाईँले संस्थामा २० वर्षदेखि हुनुहुन्छ, यो अवधिमा एनआरएनएका लागि के–के गर्नुभयो ?
विगतमा कुनै राजनीतिक दलको क्रियाशील सदस्य भएको अवस्थामा त्यो सबै छाडेर यो अभियानमा लागेको हुँ । एनआरएनएको इतिहासमा म एउटा त्यस्तो मान्छे हुँ, पत्रकार सम्मेलन नै गरेर अहिलेको नम्बर १ पार्टीको महाधिवेशन प्रतिनिधि निर्वाचित भएर पनि एनआरएनएको अभियानका लागि त्यो छाडेको हुँ । मेरो ध्येय भनेको एनआरएनएलाई सबैको र सबैका लागि पार्टीभन्दा माथि बनाउने हो । मुल प्रश्न, मैले के गरेँ भन्दा पनि संस्थागतरुपमा हामीले धेरै काम गरेका छौँ । संस्थागतरुपमा ठूलो नेटवर्किङ बनेको छ । नेपाल सरकारले विश्वभर ३२–३६ वटा ठाउँमात्रै कूटनीतिक नियोगहरु स्थापना गरेको छ । आज हामीले प्रत्यक्षरुपमा ८७ देशमा त राष्ट्रिय समन्वय परिषद् स्थापना गरेर त्यहाँको नेपाली, त्यहाँको अवस्था र समग्र नेपाललाई चिनाउन र नेपाल र नेपालीको हकहितका लागि कोही नभएपनि कमसेकम हामी छौँ । त्यो सबैभन्दा ठूलो प्रोपर्टी हो भन्ने मलाई लाग्छ । कला, संस्कृतिको प्रचारप्रसारका साथै त्यहाँ भएका नेपालीहरूको ज्ञान, सिपलाई आदानप्रदान गर्ने एउटा फोरम पनि भएको छ। यही फोरमबाट नेपालमा लगानी गर्न, सामाजिक क्षेत्रमा काम गर्न पनि सकेका छौँ ।
व्यक्तिगतरुपमा पनि मैले नेपालमा विभिन्न क्षेत्रमा शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा सहयोग गरेका छु । विशेषगरी नेपालको पर्यटन प्रवर्धन र समाजसेवाको मैले केही महत्वपूर्ण काम गरेको छु । विसं २०५०–५१ सालदेखि नेपालमा होटेल व्यवसायका क्षेत्रमा सक्रिय हुँदादेखि नै मेरो पर्यटन प्रवर्धनमा विशेष रुचि र चासो रहँदै आएको थियो । २००९ मा डेनमार्कमा कोप–१५ को अवसरमा ‘सेभ त हिमालय’ नामको पर्यटन प्रवर्धनसम्बन्धी कार्यक्रम गर्ने अवसर पाएँ । त्यतिबेला हिमालहरूको संरक्षणका लागि विश्वसामु ‘सेभ द हिमालय’ भन्ने कार्यक्रम प्रस्तुत गरिएको थियो । कोपनहेगनमा नेपाली आरोहीहरू, ३७ जना सांसद, मन्त्री, प्रधानमन्त्रीलगायतको उपस्थितिमा अव्य कार्यक्रमको आयोजना हुँदा त्यसमा मेरो महत्वपूर्ण भूमिका रहेको थियो ।
यसैगरी सन् २०११ मा गैरआवासीय नेपाली संघको नेपाल प्रमोसन कमिटीको सदस्य भएर पनि मैले काम गर्ने अवसर पाएँ । यसैगरी सन् २०१४ देखि १६ सम्म गैरआवासीय नेपाली संघकै युरोप क्षेत्रको पर्यटन प्रवद्र्धन समितिको संयोजक भएर काम गर्ने अवसर पनि पाए । नेपाल सरकार पर्यटन बोर्डको तर्फबाट मानार्थ जनप्रतिनिधिको रूपमा पनि काम गर्ने अवसर पाएँ । त्यतिबेला ‘सेन्ड होम अ फ्रेन्ड’, ‘बुद्ध नेपाल क्याम्पेन’ जस्ता कार्यक्रमहरू सञ्चालन भएका थिए । साथसाथै नेपाली मौलिकता झल्किने विभिन्न रोड सो, पञ्चेबाजाको प्रदर्शनी, नेपाल फेस्टिभल, माउन्टेन्स डे, बुद्ध जयन्ती जस्ता कार्यक्रमहरू आयोजना गरेर डेनमार्कमा सिर्जनशील काम र अभियान सञ्चालन गरेर नेपाललाई चिनाउने भरपुर प्रयासहरू भएका थिए । जसको परिणामस्वरुप नेपालमा पर्यटकहरू भित्र्याउन केही भए पनि सहयोगी भूमिका निर्वाह गर्ने काम भएको थियो । मेरै सक्रियतामा २०१७ मा पर्यटन क्षेत्रलाई नै लक्षित गरेर ‘भिजिन नेपाल युरोप क्याम्पेन २०१७’ चलाइएको थियो ।
यसबाहेक आफ्नो व्यवसाय र अवसरको खोजीमा माल्टामा पुग्दा फेरि २०२० देखि २०२१ सम्म अर्थात् दुई वर्ष माल्टाका लागि नेपाल टुरिजम बोर्डको मानार्थ जनप्रतिनिधिको रूपमा काम गर्ने अवसर पाएँ । त्यहाँ भिजिट नेपाल २०२० को कार्यक्रमका लागि महत्वपूर्ण कामहरू भएका भएका थिए । माल्टापछि बेलायत पुग्दा वेल्सका लागि नेपाल सरकारको मन्त्रिपरिषद् बैठकबाटै टुरिजम गुड विल एम्बासडरका रूपमा नियुक्ति पाएँ । अहिले यो फोरममार्फत पनि मैले निरन्तर नेपालको पर्यटन प्रवर्धनका लागि कामहरू गरिरहेको छु । ई–पुस्तकालयका सवालमा केही काम गर्ने अवसर पाएको छु । मेलै प्रयास र अभियानको बलमा देशमा २०० भन्दा बढी स्थानमा ई–पुस्तकालय खुलेका छन् । समाजका दुःखी, गरिब र समस्यामा परेकाहरूलाई आफ्नै प्रयासमा र संयोजन गरेर सहयोग भएका छन् । यसबापत मैले विभिन्न पुरस्कार र सम्मानहरू पनि थाप्ने अवसर पाएको छु । समाजका लागि जे जति गरेका छु, त्यो भन्दा धेरै गर्ने चाहना छ ।
गैरआवासीय नेपाली संघको उपमहासचिवको उम्मेदवारका रुपमा यहाँको एजेन्डा के–के छन् ?
विशेषगरी एनआरएनएको सचिवालयबाट जुन डेलिभरी हुनुपर्ने थियो, त्यो हुन सकिरहेको छैन । त्यसलाई अलि फरक तरिकाले लैजानका लागि र समग्र एनआरएनए अभियानलाई गति दिनका लागि मेरो उम्मेदवारी हो । त्यसैले गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालयलाई चुस्त बनाउन पहल गर्नेछु । एनआरएनए सामूहिक नेतृत्वबाट सञ्चालित संस्था हो, त्यसैले कतिपय विषयहरूमा व्यक्तिले चाहेअनुसार अगाडि बढ्न नसकेको मेरो अनुभव छ । भविष्यमा पनि विगतको अनुभवलाई भरपुर उपयोग गर्दै प्रवासमा बस्ने नेपाली र मातृभूमि नेपालको हितमा परिणाममुखी काम गर्ने प्रतिबद्धता मेरो छ । विदेशमा बस्ने नेपालीका साझा समस्याको पहिचान र दीर्घकालीन समाधान गर्न, वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पुगेका नेपालीको अवस्था सुधार गर्न, विदेशमा बस्ने नेपालीको सामूहिक लगानीको प्रत्याभूति गर्न र नेपालको पर्यटन, कला, संस्कृतिको विकास तथा नेपालको पर्यटन प्रवर्द्धनात्मक काम गर्ने मेरो प्रतिबद्धता छ ।
वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका समस्यामा परेको अवस्थामा एनआरएनएले वैदेशिक रोजगार कोष मार्फत उनीहरूलाई सहयोग, उद्धार र राहत दिने व्यवस्था मिलाउन प्रयास गर्ने मेरो प्रतिबद्धता छ । यसैगरी वैदेशिक रोजगारीको सिलसिलामा कागजी समस्या परेर विभिन्न देशका जेलमा रहेका नेपाली नागरिकलाई सहयोग गरेर स्वदेश फिर्ता गर्ने कार्यमा एनआरएनएलाई क्रियाशील गराउन पहल गर्नेछु । एनआरएनएले सञ्चालन गरेका परोपकार योजनालाई थप प्रभावकारी बनाउने, संस्थाको सुदृढीकरण र पूर्ण व्यवस्थित गर्नतर्फ लाग्नेछु । साथै, विश्वभर छरिएर रहनुहुने प्रवासी नेपालीहरूलाई एउटै छानामुनि केन्द्रित गरी भाइचाराको सम्बन्ध विकास गर्दै प्रवास बस्ने नेपालीहरूको साझा संगठन निर्माणमा क्रियाशील रहने छु । यसबाहेक राष्ट्रिय समन्वय परिषदहरुलाई थप स्वायत्त बनाउने, संघका नियमित मुद्दाहरूमा पहल गर्ने, गैर आवासीय नेपाली संघलाई संस्थागत र सशक्तीकरण गर्दै संस्थामा नयाँ पुस्ता र प्रविधिलाई एकै साथ अगाडि बढाउने दिशामा लागिपर्नेछु । यसैगरी संघलाई महिला, युवा, दोस्रो पुस्ता र श्रमिकमैत्री बनाउँदै अभियानमा सबैलाई जोड्ने, सहभागिताको सुनिश्चितता गर्न पहल गर्ने, सचिवालयलाई थप व्यवस्थित मर्यादित, पारदर्शी र प्रविधिमैत्री सहित क्रियाशील बनाउन लागिपर्ने मेरो प्रतिबद्धता छ ।
सेमिनार, गोष्ठी, सभा–सम्मेलनलाई परिमार्जित गर्दै नीतिगत अस्पष्टतालाई सम्बोधन गर्नेसहित संघलाई थप व्यवस्थित, मर्यादित, एकत्रित र बलियो साझा सङ्गठनका रूपमा निर्माण गर्न संस्थागत रूपमा क्रियाशील हुने उद्देश्यसहित मेरो उम्मेदवारी रहेको छ । यसैगरी विश्वका विभिन्न देशमा रहेका नेपालीले आफ्नो समस्याको जानकारी गराउने र समाधानका लागि तत्काल सम्बोधन गर्ने गरी डेस्क स्थापना गर्न आवश्यक देखिएकाले विदेशमा बस्ने नेपालीका लागि उद्धार कानुनी सुझाव सहयोग र अन्य समस्या समाधानका लागि २४ सै घन्टा सेवा दिनेगरी काम गर्न पहल गर्ने छु । बेलायती भूतपूर्व गोरखाहरुको समस्या समाधान गर्न पहल गर्नेसहित एनआरएनएका अग्रज तथा शुभेच्छुक महानुभावको साथ र सहयोगमा गैरआवासीय नेपाली संघले अवलम्बन गरेका नीति तथा कार्ययोजनालाई निरन्तरता दिँदै विगतको अनुभवलाई समेत आत्मसात् गरेर एनआरएनए अभियानलाई उचाइमा पुर्याउन भरपुर प्रयास गर्ने प्रतिबद्धता जनाउँछु । मेरो एजेण्डालाई कार्यान्वयन गर्न र एनआरएनए बनाउने मेरो उद्देश्यलाई आउँदो विश्व सम्मेलनबाट मलाई उपमहासचिव पदमा अत्यधिक मतका साथ निर्वाचित गराउनु हुन सबैलाई अनुरोध पनि गर्दछु ।
उपमहासचिवमा निर्वाचित हुनेमा कति आशावादी हुनुहुन्छ ?
मलाई एउटा आत्मविश्वास छ के भन्दा गैरआवासीय नेपाली संघमा मैले स्थापनाकालदेखि नै नजिक रहेर विभिन्न पद, तह र तप्कामा काम गर्दै आएँ । जुन जिम्मेवारी संस्थाबाट पाएँ, जुन ठाउँमा बसेँ म दोस्रो भएको छैन । वैदेशिक रोजगार कल्याणकारी कोषका सवालमा होस् या टुरिजम प्रोमोसनका काममा होस् या कार्यदलमा रहेर मैले जिम्मेवारी पाउँदा अब्बल रुपमा काम गरेका छु । म संसारका सबै देशसँग जोडिएको छु, त्यहाँको समस्याबारे पनि जानकार छु । मलाई के लाग्छ भन्दा यो पदमा सर्वसम्मत हुन पहिलो प्रयास रहन्छ । सर्वसम्मत बन्ने उपमहासचिव बन्ने मेरो विश्वास छ । अन्यथा म भारी मतका साथ जित्छु । हार्छु भन्नेमा मैले कल्पना नै गरेको छैन ।
तर, एनआरएनएमा नेतृत्वका लागि तीव्र प्रतिस्पर्धा हुने गरेको छ । पदकै विषयले एनआरएनए अझै विभाजित अवस्थामा पनि छ, खासमा एनआरएनएमा पदका लागि विवाद किन भइरहन्छ ?
नेपालभन्दा बाहिर एउटा अर्को नेपाल छ । नेपालमा ७७ वटै जिल्लाका विभिन्न सोच र विचार राख्ने साथीहरू हामी विदेशमा छौँ । यो मात्रै एउटा यस्तो संगठन हो, जसलाई सरकारले र अन्तर्राष्ट्रिय जगतले विश्वास गरेको छ । यसको नेतृत्वका लागि योभित्र रहेर म केही गर्छु भन्ने सबैमा चाहना हुनु स्वाभाविक हो । जसमा जतिले इच्छा चाहाना देखाउनु भएको छ, यसले संस्थाको गरिमा बढेको छ भन्ने मेरो बुझाइ छ । त्यसैले यो खण्डीकृतको अवस्था त के हो भने मैले अघि पनि भनेँ संस्थालाई जसरी विधि र विधानले बाँध्नुपर्थ्यो त्यसो नभई भावनाले चलेपछि कहीँ न कहीँ समस्या भएकै हो । २० वर्षको लक्का जवान भइसक्दा कतै संघमा समस्या आएको हो कि भन्ने पनि यदाकदा सुन्न पाइन्छ, तर हामी ११ औँ महाधिवेशनको सम्मुखमा हुँदैगर्दा केही समस्या रहेछ भने पनि सबै मिलाएर अघि बढ्छौँ। केही साथीहरुको चित्त नबुझेको हुनसक्छ यत्रो ठूलो संस्थामा कसैले फरक मत राख्नु सामान्य कुरा हो । अझै पनि हामी सबैलाई समेटेर लैजाऔँ भन्नेमै छौँ । जो अहिले फरक मत राखेर बाहिर हुनुहुन्छ, उहाँहरु पनि सच्चिएर आउनुहुन्छ र हामी सँगै हुन्छौँ ।
भनेपछि एनआरएनए एकताबद्ध हुन्छ ?
एकदम । अहिले केही नमिलेका कुरा, फरक मत राख्ने साथीहरूका विचारलाई पनि समेट्ने प्रयास गरिराखेका छौँ । उहाँहरूलाई ठाउँ दिइराखेका छौँ । नमिलेका कुराहरूलाई मिलाउन हामी संस्थापन पक्ष भन्दा पनि जसले संस्थालाई अघि बढाउन लिड गरेका छौँ त्यो हाम्रो दायित्व हो । त्यस कारण हामी अत्यन्त लचकताका साथ उहाँहरूको मागलाई सम्बोधन गर्ने कुरामा प्रतिबद्ध छौँ । यसमा हामी नजिक पनि छौँ र केही नमिलेका कुराहरू छन्, त्यसलाई मिलाउँछौँ ।
यहाँले अघि नै पनि भन्नुभयो मेरो विश्वभर नेटवर्क छ भनेर । तपाईँले नेपाल र नेपालीका लागि समाजसेवाको क्षेत्रमा काम पनि गरिरहनु भएको छ । खासमा एनआरएनएको पद नै चाहिँ किन चाहिने रहेछ ?
यो यस्तो चिज हो, जब हामीले अवसरको खोजीमा बाहिरियौँ । बाहिरिएपछि बल्ल देशको माया र देशका लागि केही गर्नुपर्ने अनुभूति भयो । त्यसपछि हामीले यो सामाजिक संस्था स्थापना गरेका छौँ । सबै अटाउन सक्ने र देश विदेशमा पनि ट्रस्ट भएको संस्था हो एनआरएनए । त्यसको नेतृत्व गर्न सबैको चाहना हुन्छ र छ नै । विदेशमा पनि नेपालका राजनीतिक दलका पनि विभिन्न संघ संगठनहरु छन्, त्यो भन्दा पनि यो सङ्गठनहरूको पनि संगठन हो । सबै नेपालीको साझा हो । मैले सबै कुरा छाडेर यो अर्गनाइजेशनको माध्यमबाट विश्वभर रहेका नेपालीको हकहितको संरक्षण गर्दै हामीले सिकेका सिप र पुँजीलाई पनि नेपाल र नेपालीको हितमा ल्याउनका लागि यो एउटा माध्यम बन्न सक्छ भन्ने हिसाबले नै संघलाई रोजेको हुँ । समृद्ध नेपाल निर्माण गर्ने अभिभारा पुरा गर्नका लागि संघमा आएको हो, र यसमै निरन्तर रहिरहने योजना छ ।
एनआरएनएमा धेरै राजनीति छ भनिन्छ, चुनावमा प्यानल खडा गर्नेदेखि आफूअनुकुलको लबिङ सामान्य भइसक्यो, तपाईं पनि कुनै प्यानलमा आबद्ध हुनुहुन्छ कि ?
हेर्नुस्, राजनीति गर्ने मान्छेले मात्रै समाजसेवा गर्छ । राजनीति गर्न हुन्न भन्ने कुराको म विपक्षमा छु । तर, राजनीतिले एनआरएनएलाई हस्तक्षेप गर्न हुँदैन भन्नेचाहिँ मेरो प्रष्ट मान्यता छ । जसले संघमा आउने इच्छा देखाउनु भएको छ, सबै आ–आफ्नो क्षेत्रमा योग्य हुनुहुन्छ । तर विजयी त धेरै मत पाउने नै हुने हो । त्यसैले यहाँ जातीय, धार्मिक, क्षेत्रीय कुराहरू पनि आउन सक्छन् र राजनीतिक कुरा पनि आउन सक्छन् । प्यानलवाइज भन्दा पनि केही विचार मिल्ने साथीहरुबीच समूह बन्नसक्छ । जसले एनआरएनएलाई माया गर्छ, जसले एनआरएनएलाई फरक तरिकाले लिड गर्छु भनेर आउँछ म त्यसैको हुँ । प्रष्ट भन्नुपर्दा म कसैको प्यानल भन्दा पनि एनआरएनएको प्यानल हुँ । हाम्रो सम्बन्ध, राजनीतिसँग पनि छ, समाजसँग पनि छ सबैसँग नजिक भएर सहकार्य गरेर अघि बढ्ने हो । सबैसँग सहकार्य गरेर विशुद्ध साझा संगठन बनाउने हो ।
प्रवक्ताका रूपमा तपाईँलाई एउटा प्रश्न–१० औँ महाधिवेशन तोकिएको समयमा हुन सकेन, ११ औँ महाधिवेशन पनि सर्ने हल्ला सुनिन थालेको छ, के तोकिएको समयमा महाधिवेशन हुन्छ ?
तपाईँलाई म के विश्वास दिलाउन चाहन्छु भने तोकिएकै समयमा निर्वाचन सम्पन्न हुन्छ । गत वर्ष वैधानिक रूपमा केही समस्या भएको साँचो हो तर ११ औँ महाधिवेशनको तयारी अघि बढिसक्यो । हामीले राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायतलाई यसको निम्ता पनि दिइसकेका छौँ । हामीबीच कुनै समस्या पनि छैन र केन्द्रीय सचिवालयले स्मुथली कामहरु अघि बढाइरहेको छ । एउटा प्रवक्ताको रूपमा अक्टोबरको १७–२० मा महाधिवेशन सम्पन्न हुने स्पष्ट गर्न चाहन्छु । ४१७६ जना र ५९ देशका प्रतिनिधिहरुको उपस्थितिमा महाधिवेशन सम्पन्न गर्न तयारी समिति निर्माण गर्नेदेखि धेरै तयारी सुरु भएका छन् । यसका लागि विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम पनि सुरु भइसकेको छ । सकेसम्म हाम्रो पहल निर्विरोध सुरुमा नेतृत्व चयन गर्नेतर्फ हुनेछ । सहमति हुन नसकेको खण्डमा निर्वाचनमा गइनेछ । निर्वाचन अनलाइन र काठमाडौँमा हुनुहुने साथीहरुले प्रत्यक्षरुपमा पनि गर्न सक्नुहुनेछ ।
अन्तिममा आम एनआरएनएहरुलाई के भन्न चाहनुहुन्छ ?
म एनआरएनए अभियानमा निरन्तर रहेको कुरा पुनः स्मरण गराउन चाहन्छु । गैरआवासीय नेपाली संघ, पोर्चुगलको कार्यसमिति सदस्यको रूपमा निर्वाचित भएर मैले जब एनआरएनएको यात्रा सुरु गरेँ त्यसयता कुनै न कुनै जिम्मेवारीमा रहेर अहिले प्रवक्ताको रूपमा छु । त्यसैले अहिलेसम्म जे गर्न सकिएन ती गर्न बाँकी रहेका कामलाई व्यवस्थित, मर्यादित र पारदर्शीका साथै साझा र एकताबद्ध एनआरएनए बनाउने उद्देश्यसहित मैले उम्मेदवारी घोषणा गरेको छु । मलाई सबै एनआरएनए अभियन्ताहरूले सधैँझैँ साथ दिनुहुन्छ भन्नेमा आशा राखेको छु । र, सहयोगको अपिल पनि गर्न चाहन्छु ।
Source : janasawal