कोपनहेगन– गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् युरोप क्षेत्रीय संयोजक पदमा डेनमार्कबाट सोम सापकोटले उम्मेदवारी घोषणा गरेका छन् । हाल युरोप उप–संयोजकको जिम्मेवारी निर्वाह गरिरहेका सापकोटाले संयोजकका उम्मेदवारी घोषणा गरेका हुन् । कोपनहेगन बस्ने सापकोटाले विगत २ वर्षमा युरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषदमा राम्रो काम गरेर चर्चा कमाएका छन् । प्रवासमा रहेका नेपालीको छाता संगठन गैरआवासीय नेपाली संघको अभियानको शुरुवात देखिनै सापकोटा सक्रिय छन् । युरोप क्षेत्र अन्तर्गतका २७ राष्ट्रिय समन्वय परिषदको राष्ट्रिय महाधिवेशन सम्पन्न गराउन र अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीलाई प्रथामिकता दिएका सापकोटाले ढिलो गरी उम्मेदवारी घोषणा गरेका छन् । उनले यूरोपका विभिन्न देशबाट उम्मेदवारी दिनका लागि सकरात्मक सुझाव आएपछि अगाडि सरेको बताएका छन् ।
उम्मेदवारी घोषणा गर्दै सापकोटाले गैर आवासीय नेपाली संघ एनआरएनएले अवलम्बन गरेका नीति, नियम र योजनालाई निरन्तरता दिदैं विगतका अनुभवको आधारमा लक्ष्य प्राप्तिका लागि भरपुर प्रयत्न गर्ने प्रतिवद्धता समेत जनाएका छन । ‘यूरोप क्षेत्रका २७ वटा राष्टिय समन्वय परिषद्, केन्द्र, यूरोपका नेपाली राजदूतावास र नेपाल सरकार लगायत सरोकारवाला निकायबीच समन्वय गरेर नेपाल र गैर आवासीय नेपालीको हितमा काम गर्नेछु ।’ सापकोटा भन्छन– यूरोपका गैरआवासीय नेपालीका मुख्य मुख्य समस्यामा बढी केन्द्रीत हुनेछु । तत्कालीन र दीर्घकालीन समस्याको पहिचानगरी अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’ यूरोपमा वैदेशिक रोजगारका लागि सरकारसंग समन्वय गर्ने, सामुहिक लगानीको वातावरण तयार गर्न प्रयास गर्ने, नेपालको सांस्कृतिक तथा पर्यटकीय सम्भावनाको प्रवद्र्धन गर्ने र नेपालको पुननिर्माणका लागि निरन्तर समन्वयात्मक प्रयास गर्ने सापकोटाले बताए।
एनआरएनएको स्थापनादेखि यूरोपमा क्रियाशील सोम सापकोटा विगतमा राष्टिय समन्वय परिषद्, आईसीसी, यूरोप क्षेत्र उपसंयोजकमा क्रियाशील रहेका बेला बटुलेको अनुभवका आधारमा काम गर्ने बताउँछन । उनले विगतमा जस्तै यूरोप र केन्द्रबीचको समन्वय, नेपाल सरकार र यूरोपका नेपालीबीचको समन्वय तथा यूरोपमा रहेका नेपालीबीच घनिष्ठ सम्बन्ध कायम गर्ने विषयलाई समेत प्राथमिकतामा राखेका छन् । सापकोटा गैरआवासीय नेपाली संघ राष्टिय समन्वय परिषद् पोर्चुगलको सदस्य भएर स्थापना कालमा गैर आवासीय नेपाली संघको अभियानमा सामेल भएका हुन । पोर्चुगलबाट डेनमार्क बसाई सरेका सापकोटा गैरआवासीय नेपाली संघ राष्टिय समन्वय परिषद् डेनमार्कको संस्थापक अध्यक्ष समेत बनेर काम गरे । डेनमार्कको अध्यक्ष हुँदा देखाएको लगनशीलताले उनलाई माथि पुर्याउन सहयोग गर्यो र एनआरएनको अन्तर्राष्टिय समन्वय परिषद्को सदस्य हुँदै उनी अहिले एनआरएन यूरोप क्षेत्रीय उपसंयोजक पदमा काम गरिरहेका छन । अक्टोबर १४ देखि १७ तारेखसम्म काठमाडौंमा हुने संघको सातौं अधिवेशनबाट उनी यूरोप संयोजक बन्ने तयारीमा लागेका छन ।
यूरोपमा संगठनमा रहेर नेपालीका लागि काम गर्ने मात्रै होईन, उनले व्यक्ति पहलमा पनि समाजका लागि काम गर्दै आएका छन् । उनकै पहल र सक्रियतामा बाग्लुङ्गको काँडेबासमा झण्डै २४ लाख र चितवनको लंकुमा झण्डै १९ लाख रुपैयाँ बराबरको सहयोगमा ईलाईब्रेरी स्थापना भएको छ । सापकोटा अनाथ बालबालिकालाई सहयोग, अपांगलाई सेतो छडी वितरण, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सहयोग लगायतका दर्जनौं सामाजिक काममा क्रियाशील छन । बाँके र बर्दियाका बाढी पीडितका लागि उनले एनआरएनका तर्फबाट सहयोग रकम जम्मा पारेर त्यस क्षेत्रका बाढी पीडितका लागि खाद्यान्न तथा विद्यालयका भवन निर्माणमा पनि सहयोग गरेका थिए ।
Source : ratopati