काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एशिया क्षेत्रीय सम्मेलनलाई विगतका सम्मेलनको निरन्तरतामा मात्र सीमित नराखी परिणाममुखी र नेपालकेन्द्रित बनाउने तयारी गरिएको छ। आगामी १५ र १६ अगस्ट २०२६ मा चीनको ग्वाङ्झाउमा आयोजना हुने सम्मेलनलाई नेपाल र प्रवासी नेपालीबीच आर्थिक, सामाजिक तथा नीतिगत साझेदारी विस्तार गर्ने महत्वपूर्ण मञ्चका रूपमा विकास गर्ने लक्ष्य राखिएको एनआरएनए आईसीसीका प्रवक्ता सोमनाथ सापकोटाले बताएका छन्।
सापकोटाका अनुसार सम्मेलनमा नेपालका राजनीतिक नेतृत्व, सांसद, पूर्वसांसद, नीति निर्माता, व्यवसायी, विज्ञ, सञ्चारकर्मी तथा एशियासहित विश्वका विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपालीहरूको उल्लेखनीय सहभागिता रहनेछ।
सम्मेलनमा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। संघीय संसदका सदस्य तथा पूर्वसांसदसहित विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिताले प्रवासी नेपालीका सवाल तथा नेपालसँग सम्बन्धित आर्थिक, सामाजिक र नीतिगत विषयमा प्रत्यक्ष संवादको अवसर सिर्जना गर्ने सापकोटाको भनाइ छ।
उनका अनुसार सम्मेलनमा गैरआवासीय नेपालीका अधिकार, नागरिकता, रोजगारी तथा सामाजिक सरोकारका विषयसँगै नेपालको आर्थिक तथा सामाजिक विकासमा एनआरएनएको भूमिका र योगदानबारे गहन छलफल हुनेछ।
नेपालमा FDI भित्र्याउने विषय प्राथमिकतामा
सापकोटाले सम्मेलनमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (FDI) भित्र्याउने विषयलाई विशेष प्राथमिकता दिइने बताएका छन्।
गैरआवासीय नेपालीको पूँजी, सीप, ज्ञान, प्रविधि र अन्तर्राष्ट्रिय सञ्जाललाई नेपालको विकाससँग जोड्नुपर्नेमा जोड दिँदै उनले व्यापार तथा व्यावसायिक साझेदारी, जलविद्युत्, पर्यटन, पूर्वाधार, उद्यमशीलता तथा आर्थिक कूटनीतिका क्षेत्रमा सहकार्य र लगानी विस्तारका सम्भावनाबारे सम्मेलनमा छलफल हुने बताए।
नेपालमा लगानी गर्न चाहने गैरआवासीय नेपालीले भोगिरहेका कानुनी, प्रशासनिक तथा नीतिगत जटिलता समाधान गर्दै लगानीको वातावरण सुधार गर्न सम्बन्धित निकायसँग प्रत्यक्ष संवाद गरिने उनको भनाइ छ।
एशियामा रहेका नेपालीको ज्ञान र पूँजी नेपालसँग जोड्ने लक्ष्य
चीन, जापान, दक्षिण कोरिया, मलेसिया, थाइल्याण्ड, हङकङ, मकाउलगायतका मुलुकमा नेपालीहरू व्यवसाय, रोजगारी, शिक्षा तथा विभिन्न पेशामा सक्रिय रहेको उल्लेख गर्दै सापकोटाले उनीहरूको ज्ञान, सीप, पूँजी, अनुभव र अन्तर्राष्ट्रिय सञ्जाललाई नेपालको विकाससँग जोड्न सम्मेलन महत्वपूर्ण हुने बताए।
उनका अनुसार डायस्पोराले विदेशमा हासिल गरेको अनुभव र सीपलाई नेपालको आर्थिक तथा सामाजिक रूपान्तरणमा उपयोग गर्न सक्ने वातावरण निर्माण गर्न आवश्यक छ।
दोस्रो पुस्ताका नेपालीलाई मातृभूमिसँग जोड्ने विषयमा पनि छलफल
सम्मेलनमा विदेशमा जन्मिएका तथा हुर्किएका दोस्रो पुस्ताका नेपाली युवालाई आफ्नो पहिचान, भाषा, संस्कृति र मातृभूमिसँग जोड्ने विषयलाई समेत विशेष प्राथमिकता दिइनेछ।
सापकोटाका अनुसार संस्कृति, खेलकुद, साहसिक पर्यटन, ट्रेकिङ तथा नेपाल भ्रमणमार्फत दोस्रो पुस्तालाई नेपालसँग भावनात्मक रूपमा जोड्ने रणनीतिबारे छलफल हुनेछ। दोस्रो पुस्तालाई नेपालको दीर्घकालीन विकास तथा डायस्पोरा नेतृत्वमा जोड्नु आजको महत्वपूर्ण आवश्यकता रहेको उनले बताए।
छलफललाई कार्यान्वयनसम्म लैजाने तयारी
दुईदिने सम्मेलनमा विभिन्न विषयगत सत्रमार्फत कार्यपत्र प्रस्तुति, छलफल तथा अन्तरक्रिया आयोजना गरिनेछ। पहिलो दिन नेपाल तथा चीनका उच्चस्तरीय प्रतिनिधिहरूको सहभागितामा उद्घाटन समारोह आयोजना गर्ने तयारी छ।
सम्मेलनबाट उठेका विषयलाई केवल छलफलमा सीमित नराखी स्पष्ट निष्कर्ष, कार्ययोजना र कार्यान्वयनको आधार तयार गर्ने लक्ष्य राखिएको सापकोटाले बताए।
“क्षेत्रीय सम्मेलनको सफलता कार्यक्रम सम्पन्न हुनुमा मात्र होइन, सम्मेलनबाट उठेका मुद्दा, सुझाव र निष्कर्षलाई सम्बन्धित निकायसम्म पुर्याएर कार्यान्वयनमा लैजान सक्नुमा निर्भर हुन्छ,” भन्ने धारणा सापकोटाको छ।
उनले सम्मेलनलाई कम खर्चिलो, समयमैत्री, क्षेत्रीय समस्यामा केन्द्रित तथा स्पष्ट कार्ययोजना र प्रभावकारी फलोअपसहित परिणाममुखी बनाउनुपर्नेमा जोड दिए।
‘ग्वाङ्झाउ घोषणा–२०२६’ जारी गरिने
सम्मेलनको समापनमा ‘ग्वाङ्झाउ घोषणा–२०२६’ जारी गर्ने तयारी गरिएको छ।
घोषणामा गैरआवासीय नेपालीका प्रमुख सरोकार, नेपालमा लगानी तथा आर्थिक सहकार्य, पर्यटन प्रवर्द्धन, नीतिगत सुधार, दोस्रो पुस्ताको सहभागिता तथा अन्य महत्वपूर्ण विषयमा प्राप्त निष्कर्ष र कार्ययोजना समेटिनेछ।
उक्त घोषणालाई नेपाल सरकार तथा सम्बन्धित निकायसमक्ष नीतिगत सुझाव तथा कार्ययोजनाका रूपमा प्रस्तुत गरिने सापकोटाले बताए।
उनका अनुसार एशिया क्षेत्रीय सम्मेलन नेपाल र प्रवासी नेपालीबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै “Diaspora for Nepal’s Socio-Economic Development” को अवधारणालाई व्यवहारमा रूपान्तरण गर्ने महत्वपूर्ण अवसर बन्नेछ।
सोमनाथ सापकोटा
प्रवक्ता, गैरआवासीय नेपाली संघ (NRNA ICC)
Source. thetonnews