एनआरएनए आईसीसी उप महासचिवमा सोम सापकोटाले उम्मेदवारी दिदै
एनआरएनए आईसीसी उप महासचिवमा सोम सापकोटाले उम्मेदवारी दिदै

आशा लाग्दा सोमनाथ सापकोटा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद ९आईसीसी० को आउँदो एघारौं महाधिवेशनमा २०२३ – २०२५ कार्यकालका लागि हुने निर्वाचनमा सोमनाथ सापकोटाले उपमहासचिव पदमा उम्मेदवारी दिदै छन् ।

यतिबेला आफनो पक्षमा माहोल बनाउन एनआरएनएका अभियन्ताहरु विश्वभर प्रचारप्रसारदेखि उम्मेदवारी घोषणालाई तीव्र बनाईरहेका छन् । यहि बेला हाल एनआरएनए आईसीसी प्रवक्ता रहेका सापकोटा चुनावको माहोलका बीच संगठनलाई चुस्त र चलायमान बनाउनमा व्यस्त छन् । विश्वभरका गैरआवासीय नेपालीलाई एकताबद्ध गर्ने र संगठनसँग जोड्दै भाइचारालाई बलियो बनाउने कार्यमा सक्रिय रहदै आएका सापकोटालाई आशा लाग्दा उम्मेदवारका रुपमा पनि हेरिएको छ ।

स्वभावैले भद्र, मिलनसार एवम् मृदु सोम प्रसाद सापकोटा आँखामा राख्दा पनि नबिझाउने प्रकृतिका साथै सबैको भलो चिताउने भएकाले पनि अरु अभियन्ताहरुका लागि प्रिय बन्दै आएका छन् । फरासिला र हसिला सापकोटाले एनआरएनएभित्र उस्तै दर्विलो जनसम्पर्क कायम राखेका छन् । तसर्थ पनि सापकोटा विश्वासिला र निकै सशक्त उम्मेदवार रहेको चर्चा हुँदै आएको एनआरएनए अभियन्ताहरु बताउँछन् । हरेक जसो सदस्यसँग व्यक्तिगत सम्पर्कमा रहीरहने साथै मुद्दामा गम्भीर छलफल र निष्कर्ष निकाल्नका लागि माहिर उनी गैर आवासिय नेपाली संघका गतिविधि बारे गहिरो जानकारी साथै अभियन्ताहरु माझ सु(सम्बन्ध भएका थोरै व्यक्तिहरु मध्येमा पर्दछन् । सबै खाले एनआरएनए अभियन्ताहरुले रुचाइएको पात्र मध्येमा आफु पर्ने सापकोटा स्वयंको बुझाई छ । आफु चौतर्फी समन्वयकारी भूमिकामा रहदै आएकाले पनि आफनो पक्षमा राम्रो माहोल रहेको र उपमहासचिव पदमा जित सहज हुने निष्कर्ष सापकोटाको रहेको छ ।

सोम प्रसाद सापकोटाको व्यक्तिगत चिनारी

सोमनाथप्रसाद सापकोटा एक जुझारु एनआरएनए अभियन्ता हुन । संघको स्थापना काल देखी नै उनी एकता अभियानमा सकृय छन् । विदेश बसाइको २८ वर्षको अवधि पार गरेका सापकोटाले यस अवधिमा जिविका एवम् व्यवसायिक कर्मको सिलसिलामा आधा दर्जन हाराहारीको युरोपेली देशमा बसोबास गरेका छन् । तसर्थ पनि त्यहाँको वातावरणसाथै नेपाली समुदायको बारेमा उनी नजिकबाट परिचित छन् । सापकोटा सन् १९९६ मा नेपालबाट अवसरको खोजीमा स्ट्जिरल्याण्ड पुगेका थिए । त्यहाँ एक वर्ष बसेपछि उनी जर्मनी बसाइँ सरे । त्यहाँ पनि दुई वर्षको बसाईलाई बिट मार्दै हल्याण्ड हानिए । छोटो समय हल्याण्ड रहँदै पछि उनी बेल्जियम पुगे । बेल्जियम हुँदै १९९९ को अप्रिलदेखि पोर्चुगलमा बस्न थाले उनी । आफु जुन देश पुगे पनि नेपाल र नेपाली समूदायको पक्षमा खुलेर लागिपरेको सापकोटा बताउँछन् । आफु पोर्चुगल पुग्ने १३ औँ नम्बरको नेपालीको रुपमा रहेको रोचक प्रसंग समेत उनले सुनाए । पोर्चुगलमा अहिले नेपालीहरु ७० हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ ।

पोर्चुगलमा उनले नेपाल फ्रेण्डसिप एसोसिएसन गठन गरेर नेपाल र पोर्चुगललाई जोड्ने काम गरे । यसैगरी गैरआवासीय नेपाली संघ, जनसम्पर्क समिति, नेपाली समाज पोर्चुगल लगायतमा संलग्न रहदै सामाजिक गतिविधिमा व्यस्त रहे। उनी सक्रियताका साथ नेपाली समुदायको उत्थानमा लागिपर्दै गए । अनवरत खटिदै खटिदै उनले आफ्नो छुट्टै पहिचान बनाउन सफल भए । फेरी पालो आयो पोर्चुगल छाडने । यहि सिलसिलालाई पछ्याउने क्रममा २००९ मा उनी डेनमार्क पुगे । उनले एनआरएनए डेनमार्कलाई जन्माउँदै अध्यक्ष बने । त्यहाँ पनि उस्तै अमिट केही काम गर्न सफल गरे । त्यसमध्ये कोप १५ मा सक्रियतासाथ नेपाललाई विश्वसामू चिनाउन पनि एक हो । यसका निम्ती सापकोटाले नेतृत्वदायी भूमिका खेलेका थिए । सो क्रममा उनले नेपाल पर्यटन बोर्डको प्रतिनिधि भएर नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका समेत खेलेका थिए । डेनमार्कमा ७ वर्ष बिताए पस्चात सोही समयमा उनले स्वीडेन र चेकरिपब्लिकमा राष्ट्रिय समन्वय समिति गठन गरेका थिए ।

यस्तै थप अवसर र पारिवारिक दायित्व पुरा गर्ने क्रममा २०१७ मा बेलायत पुगे । बेलायतका साथसाथै व्यवसायको सिलसिलामा २०२० मा माल्टा पुगेका उनले आफ्नै सक्रियतामा एनआरएनएको राष्ट्रिय समन्वय समिति बनाए । यसरी उनले जहाँ नेपाली त्यहाँ गैरआवासीय नेपाली संघ भन्ने नारा अनुरुप वस्तुनिष्ठ तबरले काम गरे । त्यसो त सोही क्रममा उनले माल्टा र नेपाललाई जोड्नका लागि माल्टा नेपाल चेम्बर अफ कमर्स गठन गरेर दुई देशबीचको व्यापारलाई जोड्नका लागि समन्वयकारी भूमिका खेले । यस्तै माल्टा नेपाल फ्रेण्डसिप एसोसिएसन गठन गरेर समग्र देशलाई नै जोड्ने काम गरेबापत उनलाई नेपाल पर्यटन बोर्डले माल्टाको मानार्थ जनप्रतिनिधि नै चयन गरेको थियो । छोटो समय माल्टा बसाइका क्रममा उनले नेपाल र माल्टाको सम्बन्ध सुधारमा सकारात्मक भूमिका खेल्दै भिजिट नेपाल २०२० का लागि विभिन्न कार्यक्रमहरु आयोजना समेत गरेका थिए । विभिन्न देशमा रहँदा उनले पर्यटनसँग सम्बन्धित संगसंगठनहरु, एनजीआई तथा आईएनजीओसँगको सम्बन्ध र नेपालमा पर्यटन प्रवद्र्धनका लागि महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् ।

भिजिट नेपाल २०११ मा महत्त्वपूर्ण योगदान गरेका सापकोटा भिजिट नेपाल युरोप क्याम्पेन २०१७ को सह संयोजक भएर काम गरे । भूकम्प, नाकाबन्दी साथै कोभिडको चपेटामा परि सिथिल पर्यटनलाई माथि उठाउन पनि उनले भूमिका खेलेका छन् । नेपाल सुरक्षित गन्तव्य हो भनि विश्वलाई सन्देश दिने मामलामा उनी एक कदम अगाडि नै छ भन्दा अतियुक्ती समेत हुने छैन् । यसरी उनले विदेशमा रहेर नेपाललाई विश्व सामु जोड्न महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् । नेपाली उत्पादनलाई युरोप क्षेत्रमा लगेर बजारीकरण गर्न पनि उनको भूमिका रहेको छ । गोल्डेन एभरेस्ट मिनीमार्टलगायतका व्यवसाय सञ्चालन गरेर नेपालको प्रोमोसन गर्दै नेपालका उत्पादनलाई बेच्न उनले भूमिका खेलेका छन् ।

पछिल्लो समय बेलायतलाई कर्मभूमि बनाएर विश्वभर आफ्नो जनसम्पर्क बढाउन सफल सापकोटा २०२२ मा मन्त्रिपरिषद्को निर्णयअनुसार वेल्सका लागि नेपालको टुरिजम सद्भावना राजदूत नियुक्त भएका थिए । २८ वर्षे प्रवास बसाइमा उनी जहाँ जहाँ पुगे सो देशका स्थानीय सरकार, मिडिया, गैरआवासीय नेपाली, सामाजिक संघसंस्था, एनजीओ तथा आईएनजीओ, उद्योगीलगायतसँग समन्वय गर्दै नेपालसँग निरन्तर जोडिने प्रयास गरिरहे । यतिमात्रै होइन उनले भारतमा रहेको करिब ५० लाख नेपाली समूदायलाई समेत कुनै न कुनै माध्यमबाट एनआरएनएमा जोड्नुपर्छ भन्ने उद्देश्यसहित पहलकदमी लिँदै आएका छन् । यस्तै विश्वका विभिन्न देशभा रहेका गैरनेपाली तर नेपालीभाषीहरुलाई समेत कहीँ न कहीँ नेपालसँग जोड्ने र दोस्रो पुस्तालाई फ्री भिसामार्फत अध्ययन तथा अवसरका लागि नेपाल ल्याउनपर्छ भन्ने मान्यता उनको रहिआएको छ । त्यसका लागि प्रययत्नशील रहेका सापकोटा कुनै पनि किसिमले नेपालीलाई हित हुने गरी अभियान सञ्चालन हुनुपर्ने धारणा राख्छन् ।

गोरखा सैनिकका साथै सिंगापुर पुलिसमा रहेका नेपालीलाई पनि एनआरएनएले कुनै न कुनै ढंगले जोड्नुपर्ने उनको धारणा छ । उनी भन्छन्, ‘अवसरको खोजीमा विश्वका जुनसुकै देशमा रहेता पनि नेपाली मूलका नेपालीभाषीहरुलाई कुनै न कुनै प्रक्रियाबाट जोडनुपर्छ ।’ उनले अगाडि भने, ‘उनीहरुको समस्या गैरआवासीय नेपालीले समाधान गर्न पहलकदमी लिने, साथसाथै उनीहरुको भावना, पुँजी र सिप देश विकासमा लगाउन बिलम्ब गर्नु हुँदैन।’ नेपालमा राजनीतिक दल, दलका नेताका साथै सामाजिक संघसंस्था र कर्मचारी प्रशासनसम्मसमेत उनको राम्रो सम्बन्ध छ । जनसम्पर्ककै कारण नेपाल र विश्वभरका एनआरएनएमाझ खास अर्थात ‘उम्दा’पहिचान बनाउन सफल छन् अभियन्ता सापकोटा । त्यसो त अन्तरराष्ट्रिय सामाजिक संघसंस्थाहरुमा समेत आबद्ध भएका उनी लायन्स क्लब अफ इन्टरनेशनलमा आबद्ध रही लायन्सहरुलाई पनि नेपालको विकासमा सामाजिक कर्ममार्फत जोड्ने कार्यमा संलग्न छन् ।

सबैसँग निकट सम्बन्ध राख्दै नेपालको विकासका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै आएका सोमनाथ सापकोटाले आफु एनआरएनए अभियानमार्फत नेपाली समुदायको हकहित तथा राष्ट्र विकासमा सकृय रहिरहने वचनबद्धता व्यक्त गरेका छन् ।

Source : sajhapana.com