गैरआवासीय नेपाली संघ १५ औँ क्षेत्रीय सम्मेलन प्राग घोषणापत्र
५, ६ र ७ मे २०२३, चेक रिपब्लिक
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १५ औँ क्षेत्रीय सम्मेलन चेक रिपब्लिकको राजधानी परागमा ५, ६ र ७ मे २०२३ मा सम्पन्न भयो । ३ दिनसम्म चलेको सम्मेलनमा प्रमुख अतिथिको रुपमा माननीय परराष्ट्रमन्त्री एनपी साउद, विशिष्ट अतिथिको रुपमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, नेपाली कांग्रेसको संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, नेकपा माओवादीका नेता खिमलाल देवकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद माननीय सांसद मनिष झा लगायतको विशेष उपस्थिति थियो ।सम्मेलनमा भएका विभिन्न सत्रमा उपस्थित प्रतिनिधिहरु स्मार्ट एनआरएनए, सदस्यता वितरण, निर्वाचन प्रकृया, एनआरएनए विधान र राष्ट्रिय समितिबीचको सञ्जालको बारेमा छलफलमा सहभागी हुनुभयो । सम्मेलनमा राष्ट्रिय समितिको प्रतिवेदन, युवा र महिला सम्मेलन, मिलाप (एकता) एनआरएनए मेघा प्रोजेक्ट, नेपाल प्रमोशन लगायत विषयमा छलफल भयो । नेपालमा १० अर्ब लगानी, नेपाली नागरिकताको निरन्तरता, भोटिङ राइट, सामाजिक सुरक्षा कोष, सीप, ज्ञान तथा प्रविधि ट्रान्फर लगायतका विषयमा समेत व्यापक छलफल भयो । सम्मेलनमा विश्वका ३५ देशका करिब ३ सय ५० जना प्रतिनिधिहरु सहभागी भएको भेलामा उपस्थित प्रतिनिधिहरुको सुझावका आधारमा निम्मानुसारको प्राग घोषणापत्र जारी गरिएको छ ।
१) नयाँ संविधानले गैरआवासीय नेपालीका लागि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था गरेपनि संविधान जारी भएको झन्डै ८ वर्ष पछि पनि आफै कार्यान्वयन नभएको अवस्थामा आम गैरआवासीय नेपालीहरुको चासो रहेको नागरिकता सम्बन्धी विधेयकलाई अघि बढाई तत्काल गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याउन यो सम्मेलन सम्बन्धीत सबैमा हार्दिक अनुरोध गर्दछ ।
२) गैरआवासीय नेपाली संघको १० औँ महाधिवेशन पछि विभिन्न कारणले असन्तुष्ट भई संस्थाको मुलधारभन्दा बाहिर रहेका गैरआवासीय नेपालीहरुलाई संघको अभियानमा सहभागी हुन यो सम्मेलन हार्दिक अपिल गर्दछ ।
३) विदेशमा रहेका नेपालीहरूको पैतृक सम्पत्तिको अधिकारलाई सुनिश्चित गर्दै आवश्यक कानुनी व्यवस्था गर्न नेपाल सरकार र राजनीतिक दलहरुसँग यो सम्मेलन अनुरोध गर्दछ । विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरुले नेपालको निर्वाचनमा भाग लिन पाउने, मतदान गर्न पाउने अधिकार (मताधिकार) सुनिश्चित गर्न सम्मानित सर्वोच्च अदालतले समेत निर्देशनात्मक आदेश जारी गरिसकेको परिप्रेक्षमा तत्काल प्रक्रिया मिलाई विदेशमा बस्ने नेपालीहरुको मताधिकार सुनिश्चित गर्न यो सम्मेलन नेपाल सरकारसँग माग गर्दछ ।
४) युवा सम्मेलन विशेष गरी युवाहरुलाई उद्यमशील बनाउन जोड दिनुपर्ने र गैरआवासीय नेपाली संघसँग युवा तथा दोश्रो पुस्तालाई अझ प्रभावकारी ढंगबाट जोड्न खेलकुद, भाषा तथा संस्कृतिलाई महत्वका साथ प्राथमिकतामा राखी संस्थागत रुपान्तरण र संघका दोस्रो पुस्तालाई जोड्ने उदेश्यले आगामी अक्टोबरमा काठमाण्डौंमा विश्व युवा सम्मेलन गर्ने निर्णय गरिन्छ ।
५) आगामी अक्टोबर ९ देखि ११, २०२३, सम्म काठमाण्डौंमा हुने संघको ११ औँ महाधिवेशन तथा विश्व सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्नको लागि संघको सदस्यता वितरणलाई तीव्र बनाउनको लागि युरोपस्थित सबै राष्ट्रिय समन्वय परिषद्हरुलाई यो सम्मेलन हार्दिक आग्रह गर्दछ ।
६) युवा तथा महिलाहरुको उद्यमशीलता अभिवृद्धिका लागि आवश्यक सहयोग गर्ने, महिला फोरम र युवाहरुको सक्रियतामा सुरु भएको सीप विकास तालिमलाई निरन्तरता दिने र गैरआवासीय नेपाली अभियानको हरेक क्षेत्रमा महिला तथा युवाहरुको सहभागिता सुनिश्चित गराउन यो सम्मेलन पुनः प्रतिबद्धता व्यक्त गर्दछ ।
७) एनआरएन नेपाल डेभलपमेन्ट फण्डलाई रु १० अर्बबाट रू ५० अर्ब बनाउने लक्ष्यको साथ समृद्ध नेपाल निर्माणमा थप टेवा पु¥याउन यो सम्मेलन आह्वान गर्दछ । विद्यमान कानूनी अड्चनहरुलाई सम्बोधन गर्दै यसमा सहभागीताको लागि आम गैरआवासीय नेपालीहरुलाई आह्वान गर्दै शिघ्र कार्यान्वयनमा ल्याउन यो सम्मेलनमार्फत प्रतिबद्धता जनाइन्छ । सो फण्डमा जोडिन चाहने गैरआवासीय नेपालीहरुको लागि यसअघि तोकिएको २५ लाख रुपैयाँ न्यूनतम सिलिङलाई घटाएर २५० डलर मात्र कायम गरिएको छ ।
८) नेपालका हवाइ कम्पनीहरुलाई युरोपेली संघ (इयू)को कालोसूचीबाट हटाउन पहल गरी नेपालबाट हुने हवाई सेवा यूरोपसम्म विस्तार गर्ने वातावरण बनाउन र युरोपबाट नेपालसँग सिधा हवाई उडान जोड्न नेपाल सरकारलाई आग्रह गरिन्छ ।
९) नेपाली दूतावास नभएका मुलुकहरु पोर्चुगल, रोमानिया, क्रोयसिया, माल््टा, चेक रिपब्लिक लगायतका देशहरुमा नेपाली राजदूताबास स्थापना गर्न यो सम्मेलन नेपाल सरकार समक्ष पुनः आह्वान गर्दछ ।
१०) विभिन्न माध्यमबाट गैरकानूनी रुपमा युरोपका प्रोर्चुगल, इटाली, टर्की, रोमानिया, क्रोसिया, सर्भिया, लगायतका मुलुकमा भइरहेको मानव तस्करीलाई रोक्न तथा जागरण अभियान सञ्चालन गर्न संघका विभिन्न देशमा संयुक्त संयन्त्र बनाई अघि बढ्न सम्मेलन राष्ट्रिय समन्वय परिषद्हरुलाई आग्रह गर्दछ ।
११) आगामी १६ औँ यूरोपेली सम्मेलन माल्टा आगामी वर्ष २०२४ मा आयोजना गर्ने निर्णय गर्दछ ।
१२) गैरआवासीय नेपालीहरुले विदेशमा आर्जन गरेको ज्ञान र सीपलाई आफ्नो मातृभूमिमा स्थानान्तरण गर्ने कार्यलाई प्राथमिकतामा राख्दै आगामी अक्टोबर महिनामा हुने विज्ञ सम्मेलनमा सहभागी हुन विश्वभर छरिएर रहनु भएका विभिन्न विज्ञहरुलाई हार्दिक अपिल गरिन्छ ।
१३) नेपाल सरकारद्धारा वैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरुलाई सामाजिक सुरक्षा कोषमा जोड्ने कार्यलाई कार्यान्वयनमा ल्याएकोप्रति यो सम्मेलन नेपाल सरकारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछ ।
१४) अन्त्यमा यस सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न पाल्नुभएका प्रमुख अतिथि ज्यू, विशिष्ट अतिथि ज्यू, अतिथी ज्यूहरु, कार्यक्रम प्रायोजक, स्वयंसेवक, सञ्चारकर्मी, कलाकार, लगायत विश्वभरि रहनुभएका गैरआवासीय नेपाली जनमा हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ ।
गैरआवासीय नेपाली संघ
७ मे, आइतवार, २०२३,