ग्वाङ्झाउ (चीन) — गैरआवासीय नेपाली सङ्घ (NRNA) को ११औँ एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन तथा ‘आरोहण–२०२६’ आजदेखि चीनको ग्वाङ्झाउस्थित क्राउन प्लाजा होटलमा औपचारिक रूपमा सुरु भएको छ। “हामीसँगै उठ्छौँ, अगाडि बढ्छौँ” (Rising Together, Leading Forward) भन्ने मूल ध्येयका साथ आयोजित सम्मेलनको उद्घाटन समारोह एसिया–प्रशान्त क्षेत्रीय संयोजक दीपक कँडेलको अध्यक्षतामा भइरहेको छ।
हालै आयरल्यान्डमा सम्पन्न युरोप क्षेत्रीय सम्मेलनको ‘डब्लिन सङ्कल्प–२०२६’ पछि आयोजना गरिएको यस सम्मेलनले एनआरएनएका साझा विश्वव्यापी मुद्दाहरूलाई एसिया–प्रशान्त क्षेत्रमा विस्तार गर्ने लक्ष्य राखेको एनआरएनए प्रवक्ता सोम सापकोटाले बताउनु भयो ।
संसदीय दलका नेता आङ्देम्बे प्रमुख अतिथि, परराष्ट्रमन्त्रीको भर्चुअल सम्बोधन
उद्घाटन समारोहमा प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेपाली कांग्रेस संसदीय दलका नेता भीमप्रसाद आङ्देम्बे प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्छ।
सम्मेलनलाई परराष्ट्रमन्त्री शिशिर खनालले भर्चुअल माध्यमबाट सम्बोधन गर्नुभएको छ। कार्यक्रममा विभिन्न राजनीतिक दलका सांसद, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, चीनस्थित नेपाली कूटनीतिक नियोगका प्रमुख तथा एनआरएनएका संस्थापक एवम् अग्रज नेतृत्वको उपस्थिति रहेको छ।
विषयगत सत्र र मुख्य प्राथमिकताहरू
सम्मेलन अवधिभर देहायबमोजिमका मुख्य विषयहरूमा घनीभूत छलफल एवम् विचार-विमर्श हुनेछ:
नागरिकता र अधिकार: गैरआवासीय नेपाली नागरिकताको निरन्तरता तथा संवैधानिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको पूर्ण कार्यान्वयन।
व्यापार, लगानी र लजिस्टिक: एसिया–प्रशान्त क्षेत्रमा रहेका नेपालीको पुँजी, ज्ञान, सीप र अनुभवलाई नेपालको आर्थिक विकासमा परिचालन गर्ने।
सुरक्षित आप्रवासन र पुनःएकीकरण: वैदेशिक रोजगारीमा रहेका श्रमिकको अधिकार सुरक्षा, सीमापार मानव बेचबिखन नियन्त्रण तथा पुनःएकीकरण।
महिला, दोस्रो पुस्ता र ब्रान्डिङ: दोस्रो पुस्ताका नेपाली युवालाई भाषा, संस्कृति र मातृभूमिसँग जोड्ने, महिला उद्यमशीलता प्रवर्द्धन गर्ने र एनआरएनएको साङ्गठनिक रि-ब्रान्डिङ गर्ने।
‘ग्वाङ्झाउ घोषणापत्र’ र प्राकृतिक क्षेत्रको भ्रमण
सम्मेलनका विषयगत सत्रहरू सम्पन्न भएपछि भोलि (१६ अगस्ट) निष्कर्ष समेटेर ‘ग्वाङ्झाउ घोषणापत्र–२०२६’ जारी गरिनेछ ।
एनआरएनए आईसीसीका प्रवक्ता सापकोटाका अनुसार डब्लिन र ग्वाङ्झाउ सम्मेलनको साझा सन्देश विश्वभरका नेपाली डायस्पोरालाई एउटै एजेन्डामा जोड्नु हो। सम्मेलनको अन्तिम दिन १७ अगस्टमा सहभागी प्रतिनिधिहरूका लागि गुआङ्डोङस्थित प्रख्यात ‘गुलोङक्सिया’ (Gulongxia) प्राकृतिक क्षेत्रको अवलोकन भ्रमण तय गरिएको छ।
Source. Nepali Voice